नेपाल पत्रकार महासंघ युके वार्षिक साधारणसभाका निर्णयहरु

आज मिति १२ अप्रिल, आइतवार २०१५ का दिन शाखाको वार्षिक साधारणसभा सम्पन्न भयो । दुई चरणमा सम्पन्न साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभयो । उद्घाटन सत्रमा बेलायतस्थित सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिले शुभकामना मन्तब्य दिनुभयो । साधारणसभाको बन्द सत्रमा निम्न प्रस्तावहरुमा छलफल भई निम्न निर्णयहरु गरिएको छ ।

१. शाखाका महासचिव श्याम लुइँटेलद्वारा प्रस्तुत शाखाको वार्षिक प्रतिवेदनलाई सुझावसहित पारित गरियो ।
२. कोषाध्यक्ष देवी गौतमद्वारा प्रस्तुत आम्दानी २४४८.१० पाउण्ड र खर्च १५७५ पाउण्ड तथा वचत ८७३.१० रहेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिबाट पारित गरियो ।  
३. शाखाका सल्लाहाकार भगिरथ योगीले शाखाको आचारसंहिता र सदस्यतासम्बन्धी नियमावलीको मस्यौदा पेश गर्नुभयो । आचारसंहितालाई पारित गरी आजैबाट सदस्यहरुले पालना गर्ने निर्णय गरियो । सो मस्यौदामाथि उपस्थित प्रतिनिधिहरुबीच छलफल गरी एक महिनाभित्र सुझाव पेश गर्ने र कार्यसमितिले अन्तिम रुप दिने निर्णय भयो ।
४. पत्रकार कल्याणकारी कोष स्थापनाका लागि गैरआवासीय नेपाली संघ, युके र नेपाल पत्रकार महासंघ, युकेको संयुक्त आयोजनामा आगामी मे ३१ तारिखका दिन लन्डनमा हुने विशेष च्यारिटी कार्यक्रमका बारेमा फडिन्द्र भट्टराई र वाचस्पति रेग्मीले जानकारी गराउनुभयो । सोको बारेमा उपस्थित प्रतिनिधिहरुबीच छलफल गरियो । सो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न साधारणसभा बेलायतस्थित पत्रकार, बुद्धिजीवी, समाजसेवी नेपाली समुदायमा हार्दिक अपील गर्दछ ।
५. शाखाले सेन्टर फर नेपलिज स्टडिज (सिएनएस) युकेको सहयोगमा गत वर्ष संचालन गरेको मिडिया सर्भेका बारेमा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले साधारणसभालाई जानकारी गराउनुभयो ।
६. शाखाको साधारणसभामा उपस्थिति भई कार्यक्रम सफल बनाउन सहयोग गर्नुभएकोमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सबैमा हार्दिक धन्यवाद दिने प्रस्ताव पारित गरियो ।

१२ अप्रिल २०१५, लण्डन