महासंघ र एनआरएनएका पदाधिकारीबीच अन्तर्क्रिया

विश्वभर छरिएर रहेका नेपालीले समृद्ध नेपाल हेर्न चाहेको गैर आवसीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले बताएका छन् । नेपाल पत्रकार महासंघसँगको अन्तर्क्रियामा एनआरएनएका पदाधिकारीहरूले समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण भूमिका सञ्चार जगतको हुने बताएका हुन ।

आज (फागुन २७ गते)केन्द्रीय कार्यालयमा महासंघ र एनआरएनएका पदाधिकारीबीच अन्तर्क्रिया भएको हो । ‘सञ्चार जगतको सकारात्मक भूमिकाले हामीलाई सधैं प्रेरित गरेको छ । नेपाली पत्रकारहरूको छाता संगठन महासंघसँग एनआरएनएको सधै सुमधुर सम्बन्ध छ र हुनेछ’, एनआरएनएका अध्यक्ष शेष घलेले भन्नुभयो ।

त्यस्तै एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली सञ्चार क्षेत्रको विकासको साह्रना गर्नुभयो । ‘सञ्चार जगत अब समृद्ध नेपाल निर्माणको समाचार प्रवाह गर्न लाग्नुपर्छ । नेपाली सञ्चार जगत जुन ढंगले विकास भएको छ त्यसको सह्राना गर्दछु’, डा. महतोले भन्नुभयो ।

अन्तर्क्रियामा एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामिछानेले पत्रकारहरूको भूमिकालाई सम्मान गर्दै एनआरएनएबाट पत्रकारिता क्षेत्रको विकासमा महासंघसँग सहकार्य गरेर जाने बताउनु भयो ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले एनआरएनएका पदाधिकारीसहितको टिमलाई स्वागत गर्दै नेपालमा सञ्चालित मिडिया बारे जानकारी गराउनु भयो । डा. विष्टले भन्नुभयो– ‘नेपालको सञ्चार विकासले विश्वभर छरिएर रहेका नेपालीलाई सु–सुचित गराएको छ । यो सबै भन्दा उत्साह जनक पक्ष छ ।’ उहाँले नेपाली मिडिया अव व्यावसायिक विकासको चरणमा रहेकाले सबैको साथ र सहकार्य चाहिरहेको बताउनु भयो ।

अन्तर्क्रियामा एनआरएनएका उपाध्यक्ष टीबी कार्की, मध्यपूर्व संयोजक चन्द्र रोका, पूर्व प्रवक्ता डा. जुगत भूर्तेल लगायत विभिन्न देशका प्रतिनिधिको सहभागी थियो । नेपाल पत्रकार महासंघ युके शाखाका तर्फबाट अध्यक्ष चिरन शर्माले संयोजन गरेको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुरेश आचार्य, उपाध्यक्ष अनिता बिन्दु, महासचिव उजिर मगर, सचिवहरू प्रभात चलाउने, संगीता खड्का र धर्मेन्द्र कर्ण, कोषाध्यक्ष सूर्यमणि गौतम, लेखा समितिका संयोजक दीपक पाण्डे र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।