बाढीपीडितलाई सहायता वितरण (फोटोफिचर)

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखा र हेल्पनेपाल नेटवर्कको आह्वानमा संसारभरिका नेपालीहरुले गरेको सहयोगबाट नेटवर्कले मध्यपश्चिम नेपालको बर्दिया जिल्लाका बाढी पीडितहरुलाई उनीहरुको घरदैलोमै गएर सहायता वितरण गरेको छ।
संकलित रकमबाट हेल्प नेपाल नेटवर्कका स्वयमसेवकहरुले ५०० वटा राहत प्याकेट बनाएर एउटा ठूलो ट्रकमा राखी बर्दिया पठाएका थिए। हरेक प्याकेटमा ५ जनाको परिवारका लागि दुईवटा ठूलो झुल, पकाउने-खाने भांडाकुंडा, तन्नाहरु र भुईंमा ओछ्याउंदा चिसो नआउने २ वटा ठूला म्याट्रेसहरू थिए।
ती राहत प्याकेटहरु नेपाल पत्रकार महासंघ बर्दिया शाखा र नेपाल रेडक्रस सोसाइटीसंग मिलेर वितरण गरिएको थियो। कोष संकलन अभियानचाहिं हेल्प नेपाल नेटवर्क युके र नेपाल पत्रकार महासंघ युके च्याप्टरले शुरू गरेका थिए जसमा ५०० भन्दा बढी नेपाली ब्यक्ति र समूहहरूबाट सहयोग प्राप्त भएको थियो।
हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष पडा प्रणब ज्ञवालीले सबै सहयोगदाताहरुलाई हार्दिक धन्यवाद दिएका छन्। उनले भविष्यमा पनि नेपालमा मानवीय तथा आपत्कालिन सहयोगकालागि हेल्पनेपालले यस्ते अभियानहरु चलाउने बताएका छन्।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष चिरन शर्माले नेपालका बाढीपीडितहरुको सहयोगकालागि हेल्पनेपाल नेटवर्कसंग सहकार्य गर्न पाउँदा आफुहरुलाई खुसी लागेकेा बताए। संसारको जुनसुकै कुनामा बसेपनि एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले सक्दो सहयोग गर्ने परम्परा जीवितै रहेको भन्दै उनले सबै दाताहरुलाई हार्दिक धन्यवाद पनि दिए।
बाढी पीडितका लागि सहयोग आउने क्रम नरोकिएकोले हेल्प नेपाल नेटवर्कको खातामा थप १० लाख जति रकम जम्मा भैसकेको नेटवर्कले जनाएको छ। “हामी छिटै सो रकमको पनि दोस्रो चरणको सहयोग पठाउने छौं। तर कृपया अब प्रतिबद्धता जनाईसकेको बाहेक थप रकम नपठाइदिनुहोला किनभने विस्तारै जम्मा हुंदैजाने थोरैथोरै रकमको सामान किनेर त्यति टाढा पठाउन व्यावहारिकरूपमा संभव हुंदैन,” हेल्पनेपाल नेटवर्क नेपालका अध्यक्ष अरुणसिं बस्नेतले भने।
दोस्रो चरणको सहयोग पठाइसकेपछि खातामा रकम जम्मा हुन आएमा त्यो सुनकोशी नदीले बगाएको बनसांघु स्कूलको पुन:निर्माणका लागि खर्च गरिने पनि नेटवर्कले जनाएको छ। बनसांघु स्कूलको पुन:निर्माणका लागि हेल्प नेपाल नेटवर्कले रू १० लाख छुट्टाइसकेको छ र त्यसका लागि थप सहयोगहरु पनि प्राप्त भएको छ।